१२ आश्विन २०८१, शनिबार

भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बनमा


डा. बैकुण्ठ अर्याल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

अख्तियारले मुख्यसचिव डा. अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. अर्यालसहित ११ जना र एक कम्पनी गरी १२ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्य सचिव अर्याल स्वतः निलम्बित भएका हुन् । दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभए सम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।

मुख्य सचिव अर्याल २०८० साल जेठ ३२ गते मुख्य सचिवमा नियुक्त भएका थिए । बहालवाला मुख्यसचिवविरुद्ध नै भ्रष्टाचार मुद्दा लागेको यो नेपालको पहिलो घटना हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !