१२ आश्विन २०८१, शनिबार

एक पुरुषले चाबहिलमा श्रीमती र ३ छोरीसहित आफैंलाई लगाए आगो


आगलागी

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र ३ छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् ।

काठमाडौं प्रहरी वृत्त, गौशालाका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्षीया, १६ वर्षीया र ८ वर्षीया छोरीहरूलाई आगो लगाएका हुन् । आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी घटना घटाएको प्रहरीले जनाएको छ । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !