१२ असार २०८१, बुधबार

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले लियो वसन्त चौधरीको बयान


वसन्त चौधरी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी वसन्त चौधरीको बयान लिएको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा हडपिएको प्रकरणमा प्रहरीले चौधरीको बयान लिएको हो ।

सीआईबीले बोलाइएका चौधरीलाई बयान कागज गराएर छाडेको हो । उक्त जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको हो । यसअघि सीआईबीले उनका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

सीआईबीले सो प्रकरणमा कांग्रेस सांसद् एवं उद्योगी विनोद चौधरीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । बाँसबारीको उक्त जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ ।

चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुणले निजीकरण गरेको सीआईबीले अनुसन्धान गरेर निष्कर्ष निकालेको छ ।

सरकारको स्वामित्वमा रहेको यो जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको थियो । तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडहरुको शेयर सदस्यहरुमध्ये वसन्त चौधरी पनि एक भएकोले उनलाई सीआईबीले उनलाई बयानका लागि बोलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !