३ असार २०८१, सोमबार

८०० वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको बिजुक्छेँद्वारा उद्घाटन


नारायणमान बिजुक्छेँ

भक्तपुर । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ ।

भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गरे ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको उद्घाटन तथा विमोचन कार्यक्रममा उनले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भाजु पखू र जलेश्वर मन्दिर पुनःनिर्माण–२०८०’ पुस्तक पनि विमोचन गरे ।

अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय धरोहरलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदाको पुनःनिर्माण जस्तै भाजु पुखू पुनःनिर्माणका क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अगाडि बढाएको बताए ।

नेपाल मजदुर किसान पार्टी बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाज्या पुखूलाई पुनःनिर्माणको सपनाले साकार रुप लिएको बताउँदै भाजु पुखूको पुनःनिर्माण भक्तपुरका लागि कोसेढुङ्गा साबित भएको बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले घाँसेमैदानमा परिणत भएको यस पोखरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् सुरु भएको भाजु पुखू पुनःनिर्माणले पूर्णता पाएको चर्चा गरे ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना, इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मी, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेललगायतले पोखरीको पुनःनिर्माणबाट भक्तपुरको इतिहास जीवन्त हुने धारणा राखे । विसं २०५८ शिवरात्रिकै दिन सुरु भएको उक्त पुखूको पुनःनिर्माण आज उद्घाटन गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !