३ असार २०८१, आइतबार

श्रमको सम्मान अभियानमा कान्छीमाया


Nepalpatra

२६ जेठ, काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका– ३ मा विसं २०४६ मा जन्मनुभएकी कान्छीमाया तामाङले एसएलसीपछि नै आफ्नो पढ्ने चाहनालाई मार्नुप¥यो । सोह्र वर्षका उमेरमा उहाँ भारतमा दाजुदिदीसँग बस्न थाल्नुभयो तर भाषाको समस्याका कारण पढाइलाई निरन्तरता दिन नसक्दा उतै घरायसी काम गर्न शुरु गर्नुभयो ।

वैदेशिक रोजगारीका लागि विसं २०६८ मा साथीका माध्यमबाट उहाँ भ्रमण प्रवेशाज्ञामार्फत इजिप्ट पुग्नुभयो । शुरुमा दुई वर्षका लागि भनी जानुभएकी उहाँ समय थप्दै छ वर्षसम्म त्यहाँ बस्नुभयो । अन्य नेपाली महिला घरायसी काममा विभिन्न समस्यामा पर्ने भए पनि आफूले त्यस्तो केही भोग्नु नपरेको बताउँदै उहाँले रासससँग भन्नुभयो, “विशेष गरी दलालमार्फत जानेहरु बढी समस्यामा पर्ने धेरै उदाहरण छन् तर म भने साथीमार्फत गएको हुँदा त्यस्तो समस्यामा परिन ।”

हाल नेपालमा श्रमलाई सम्मान गर्नुपर्छ भन्ने अभियानमा लाग्नुभएकी तामाङ विशेष गरी आफ्नो जन्मथलो सिन्धुपाल्चोकबाट आफ्नो कामलाई शुरुआत गर्दै हुनुुहुन्छ । गत साल नेपाल फर्किएपछि उहाँ पहिलो पटक सगरमाथा आरोहण गरी नेपालको जनजाति समुदायको पहिलो महिला सगरमाथा आरोही बन्नुभएको थियो ।

परिवारमा आफ्नो सगरमाथा चढ्ने चाहनाबारे बताउँदा धेरै खर्च लाग्ने जनाउँदै निरुत्साहन गरे पनि उहाँहरुलाई सम्झाएर सगरमाथाको तयारीमा लागेको र आफू सफल पनि भएकामा उहाँले हर्ष व्यक्त गर्नुभयो । यस वर्ष पनि यही जेठ ९ गते मात्रै सगरमाथा आरोहण गरेर फर्कनुभएकी तामाङले ‘श्रमको सम्मान हाम्रो अभियान’ भन्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तुलसहित त्यहाँ पुग्नुभएको बताउनुभयो । गत वर्ष सगरमाथा आरोही मात्र भएर चढ्नुभएकी उहाँ यस वर्ष भने सहयोगीका रुपमा अन्य महिलालाई पनि सगरमाथा आरोहण गराउन सफल हुनुभएको थियो ।

इजिप्टको आफ्नो बसाइलाई सम्झँदै उहाँले भन्नुभयो, “इजिप्टमा जति कामको सम्मान हुन्छ, त्यसको दाँजोमा नेपालमा अलिकति पनि हुँदैन ।” आफूले त्यहाँ रहँदा बिहान ५ः३० बजेदेखि राति १ बजेसम्म खटेको बताउँदै उहाँले विदेशको दाँजोमा नेपालमा नै खट्नसके त्यहाँभन्दा राम्रो आम्दानी हुनसक्ने अनुभव सुनाउनुभयो । पारिश्रमिकको दाँजोमा विदेशमा भन्दा नेपालमा नै बढी कमाइ हुने बताउँदै उहाँले भन्नुभयो, “नेपालमा सरकारले नै महिलालाई स्थानीयस्तरमा रोजगारीको अवसर दिने हो भने राम्रो आम्दानी हुन सक्छ ।”

भषागत रुपमा पनि महिला अदक्ष भएकै कारण थप समस्यामा पर्ने गरेको इजिप्टको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “ शिक्षाको स्तरबाट पनि पछाडि परेका नेपालका तामाङ समुदायका नेपाली दिदीबहिनीमा भाषाको ज्ञान नहुँदा विदेशमा दुःख पाएका हुन्् ।”

नेपालबाट विशेष गरी महिलाहरु घरायसी कामका लागि नै विदेश जाने गरेका छन् । नेपालमा नै बसी सीप सिके महिलाले पुरुषसरह नै स्वदेशमा प्रतिष्पर्धा गर्न सक्ने र विभिन्न व्यवसाय सञ्चालन गर्न सक्ने तामाङको ठम्याइ छ ।

वैदेशिक रोजगार न्यूनीकरण गरी देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार तदारुकताका साथ लाग्नुपर्ने बताउँदै उहाँले समाजमा चेतनाको विकासका लागि शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता औँल्याउनुभयो ।

उहाँले सिन्धुपाल्चोकमा ‘सेभ द चाइल्ड फाउन्डेसन’ दर्ता गरी कामसमेत अघि बढाएको जानकारी दिनुभयो । विशेष गरी आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढाउने र विद्यालयमा पढ्ने किशोरीलाई महिनावारी भएका समयमा सेनेटरी प्याडसमेत वितरण गर्ने अभियानमा उहाँ हुनुहुन्छ । उहाँले विद्यालयमा २६ र अन्य दुई विद्यालयमा नौ नौ विद्यार्थीलाई भर्ना गराएको समेत जानकारी दिनुभयो । परिवारको आर्थिक अवस्थाका कारण उच्च शिक्षा पाउने आफ्नो सपना अधूरो नै रहेको बताउने उहाँले जिल्लाका अन्य किशोरीलाई शिक्षित बनाउने अभियानको शुरुआत गर्नुभएको थियो । उक्त संस्थामा हाल विदेशबाट फर्किएका पाँच महिला संलग्न छन् । सिन्धुपाल्चोकलगायत रसुवामा पनि काम गर्ने योजना उहाँको छ । सिन्धुपाल्चोकमा हुने चेलीबेटी बेचबिखनविरुद्ध अभियानसमेत थालेको तामाङले भन्नुभयो ।

संस्थामार्फत ग्रामीण क्षेत्रका महिलालाई घरेलु मदिराको उत्पादनमा कमी ल्याउन जनचेतनामूलक कामको पनि थालनी आफ्नै जिल्लाबाट गरेको उहाँले बताउनुभयो । “जुनसुकै अभियानका लागि पनि आफ्नै ठाउँबाट शुरु गर्दा प्रभावकारी हुन्छ”, उहाँले भन्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांकानुसार आर्थिक वर्ष २०७४÷०७५ वैशाख मसान्तसम्म २७ हजार ५६३ नेपाली महिला वैदेशिक रोजगारका लागि गएका थिए । आव २०७२÷०७३ मा १७ हजार १७१ तथा २०७४÷०७५ मा २८ हजार ७४० महिला वैदेशिक रोजगारमा गएका थिए । विगतको तथ्यांकलाई हेर्दा महिला वैदेशिक रोजगारका लागि जाने क्रम बढ्दो रहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !