५ जेष्ठ २०८१, शनिबार

धादिङ बस दुर्घटना : मृतक ४ जनाको सनाखत खुल्यो


बस त्रिशुलीमा खस्दा

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

२ महिलासहित ६ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा घाइते छन् । १३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ ।

एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !