३१ असार २०८१, सोमबार

‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको सुन गालेर सकियो, आजै तौल सार्वजनिक गरिँदै


सुन गालिँदै

काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेर सकिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेर सकिएको हो ।

आज बिहान १०:३० बजेबाट गाल्न सुरू गरिएको सुन गालेर सकिएपछि अव २ घण्टापछि उक्त सुनको तौल सार्वजनिक गरिने भएको छ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो ।

यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने भएको छ । त्यसका लागि केही दिन लाग्नेछ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !