१३ बैशाख २०८१, बिहिबार

सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने मन्त्री रिजालको प्रतिबद्धता


सिर्सिया नदीको प्रदूषण नियन्त्रण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पर्सास्थित सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नदी प्रदुषण मुक्त अभियानका अभियन्ताहरुलाई आइतबार माइतिघर स्थित धर्ना स्थलमा भेट्दै मन्त्री रिजालले आफु प्रदूषण नियन्त्रणको पक्षमा रहेको बताउदै यसमा सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । सिर्सिया नदी प्रदूषित हुदा यो विषय स्थानीयको जनजिविकासग समेत जोडिने हुँदा यसप्रति आफु गम्भीर रहेको बताउदै मन्त्री रिजालले यथासक्दो समस्या समाधान गर्ने बताएका छन् ।

बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबारबाट माइतीघरमा धर्ना दिएको छ । वीरगञ्जबाट पैदल काठमाडौंसम्म आइपुगेका अभियन्ताहरुले मन्त्री रिजाल समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन औद्योगिक क्षेत्रबाट निस्कने फोहोर नदीमा खसाउन बन्द गर्नुपर्ने अभियन्ताहरुको मुख्य माग रहेको छ ।

ज्ञापन पत्र मार्फत अभियन्ताहरुले सिर्सिया नदी लगायत देशभरका अन्य नदीलाई प्रदुषणमुक्त र अतिक्रमणबाट बचाउन उच्च स्तरीय नदी संरक्षण बोर्डको स्थापना गर्न माग गरेका छन् । त्यसैगरी बिभिन्न स्थानमा वन क्षेत्रको जग्गाहरु उद्योगले कब्जा गरेको भन्दै त्यसलाई फिर्ता गरी वन क्षेत्रलाई हस्तान्तरण गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !