विराटनगर । सडक निर्माण गर्दा कमसल गुणस्तर भएको विरोधमा एक युवा विजुलीको हाइटेन्सन लाइनमा चढेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् ।
आज शनिवार बिहान ६ बजे पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् ।
उनले गुणस्तरहीन काम रोक्न माग गर्दै गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् । बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको काम गुणस्तरहीन भएको ती युवाको भनाइ छ ।