१९ फाल्गुन २०८०, शनिबार

काठमाडौँ उपत्यकामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु


दुर्घटना

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा ५ ख ७००४ नंको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै काठमाडौँ महानगरपालिका–१४ स्थित सडकमा बाप्र–०२–०१९प ९७१ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर थाहा नगरपालिका–७ घर भएका २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता ललितपुर गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित सडकमा सोही महानगरपालिका–५ मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा साइकलयात्री गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !