९ जेष्ठ २०८१, बुधबार

मेलमिलापका पक्षहरु दुवैको जित : कामु प्रधानन्यायाधीश जोशी


Joshi

११ जेठ, चितवन । सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो विषयमा आफैँले निर्णय लिने हुँदा मेलमिलापका पक्षहरु दुवैको जित हुने बताउनुभएको छ ।

सर्वाेच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको उपयोगिता : शान्ति र सौहार्दता’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले न्यायिक वृत्तमा आजभोलि मेलमिलापलाई आफ्नो मुद्दाको न्यायाधीश आफैँ हुनुहुँदैन भन्ने सिद्धान्तको अपवाद पनि मानिएको बताउनुभयो ।

उहाँले वार्ता, मध्यस्थता, मेलमिलापजस्ता अनौपचारिक संयन्त्रमध्ये मेलमिलापलाई औपचारिक संयन्त्रले पनि विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो ।

नेपालमा मेलमिलापको पद्धति विभिन्न प्रकारबाट अवलम्बन हुँदै आएको बताउँदै उहाँले परम्परागत पद्धति र विभिन्न समुदाय, जाति र समाजमा रहेका केही प्रथामा विद्यमान विशेष अभ्यासले कानूनी मान्यता प्राप्त नगरेको भएपनि अनौपचारिक रुपमा विवाद समाधान गरिआएको बताउनुभयो ।

सर्वाेच्च अदालत मेलमिलाप समितिका अध्यक्षसमेत रहनुभएका जोशीले मेलमिलापलाई अदालतले प्रोत्साहन गर्ने र सकेसम्म मेलमिलापबाट नै विवाद समाधान गर्नुपर्ने विषयलाई कालान्तरमा अवलम्बन गरिँदै आएको बताउनुभयो ।

उहाँले मेलमिलापसम्बन्धी ऐन, २०६८ जारी भई २०७१ सालबाट लागू भएपछि मेलमिलापको सारभूत कानूनी हैसियत र मान्यताले अर्को उचाइ लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अदालतहरुमा मेलमिलाप हुनसक्ने प्रकृतिका मुद्दालाई मेलमिलापकै माध्यमबाट समाधान गर्न विवादका पक्षहरुलाई अदालतबाट मेलमिलापका लागि प्रेषित गर्ने प्रचलनको बढ्दो प्रयोग भएको देखिन्छ ।”

गम्भीर प्रकृतिका फौजदारी मुद्दा, सार्वजनिक सरोकार र राज्यसँग सम्बन्धित संविधान र कानूनको व्याख्यासम्बन्धी विवादमा अदालतको निर्णय अपेक्षित भए तापनि देवानी प्रकृतिका व्यक्ति–व्यक्तिबीच हुने विवाद र तिनका पक्षहरुले आफ्नो विषयमा सहमति र सम्मतिमा गरेको निर्णय जत्तिको व्यावहारिक र परिपक्व अरु हुन नसक्ने उहाँले बताउनुभयो ।

न्यायाधीश, कानून व्यवसायी, न्यायकर्मी र पक्षहरु सबैले अभ्यास गर्दै आजसम्म आउँदा मेलमिलापको प्रभावकारिता पनि वृद्धि भएको बताउँदै उहाँले पक्षहरुबीच पनि यो पद्धति लोकप्रिय देखिएको बताउनुभयो । कार्यविधिको सरलता, अनौपचारिक छलफल र पर्याप्त समय र संवादको अवसरका कारण पनि मेलमिलापप्रतिको चाख बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सर्वाेच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत पाटनअन्तर्गत हेटौँडा इजलासका मुख्य न्यायाधीश सुस्मलता माथेमा, जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्मा, जिल्ला अदालत चितवन बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले मेलमिलापको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा मुद्दाका पक्ष विपक्ष र मेलमिलापकर्तालाई सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई र उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठले मेलमिलापको उपयोगिताको बारेमा प्रकाश पार्दै सहभागीको जिज्ञासा समाधान गर्ने कार्यक्रम रहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !