११ बैशाख २०८१, मंगलबार

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जबराको निधन


हिमालय शम्शेर जबरा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जबराको निधन भएको छ । जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान साढे ६ बजे निमोनियका कारण नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

जबरा केही समययता काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा मृगौला सम्वन्धी समस्याको उपचाररत थिए । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका जबरा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

पूर्व अर्थसचिव समेत रहेका जबरा उद्योग व्यवसायी, समाजसेवी थिए । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति जवरा वि.स. २०१३ बैशाख १० गतेदेखि २०१७ माघ २५ गतेसम्म गरी जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा रहेका थिए ।

गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु गरेका छन् । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए ।

जबरालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट निकालिएका थिए । पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरेका थिए ।

पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । जबराका दुई छोरा र दुई छोरी छन् । उनको पारिवारिक स्रोतका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !