१३ बैशाख २०८१, बिहिबार

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी हुँदा ५ घर जलेर नष्ट


धनकुटाको सिँधुवा बजारमा आगलागी

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ ।

हिजो बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्”, उनले भने ।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भएको खड्काले जानकारी दिए ।

बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आएको उनले जानकारी दिए । थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल समेत खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ ।

शुक्रबार साँझदेखि भएको आगलागी हिजै नियन्त्रणमा आएको थियो । बाक्लो बस्ती भएकाले आगो अन्यत्र फैलिन नदिन स्थानीयवासी र प्रहरी टोलीका साथै दमकलहरू परिचालन गरिएका थिए ।

बजारका अन्य घरहरू जोखिममा परेकाले आगो फैलिन नदिन नजिकका केही घर स्थानीयले भत्काएका समेत थिए । आगलागीबाट हालसम्म मानवीय क्षति भएको छैन । आगलागीको कारण पनि खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !