६ बैशाख २०८१, बिहिबार

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी


बाक्सिला बजारमा भीषण आगलागी

काठमाडौँ । खोटाङ जिल्लाको बाक्सिला बजारमा भीषण आगलागी भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका वार्ड नं. ४ स्थित बाक्सिला बजारमा भीषण आगलागी भएको हो ।

नेकपा एमालेका पूर्वसांसद समेत रहेका विशाल भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत बाक्सिला बजारमा भीषण आगलागी भएको जानकारी दिएका हुन् । भट्टराईले बाक्सिला बजारमा भइरहेको भीषण आगलागीले आफूलाई अत्यन्तै मर्माहत बनाएको पनि बताएका छन् ।

उनले खोटाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्ष लगायतसंग ध्यानाकर्षण गराइएको पनि जनाएका छन् । उनले यो संकटको सामना धैर्यताका साथ सबैले मिलेर गर्नुको कुनै विकल्प नभएको पनि बताएका छन् ।

केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका वडा सचिब विजय राईका अनुसार स्थानीय दिपक गुरुङको घरको माथिल्लो तलामा बेलुका साढे ५ बजे विद्युत सर्ट भएको आगलागी भएको हो । आगलागीबाट बाक्सिला बजारका ७ वटा घर जलेर नष्ट भएका छन् ।

सचिब राईका अनुसार आगलागीबाट लगभग ५ करोड भन्दा बढीको धनको क्षति भएको छ भने कुनै मानवीय क्षति भने भएको छैन । राती ७ बजेसम्म जेसिभि र स्काभेटर प्रयोग गरेर आगलागी नियन्त्रणमा आइसकेको छ । गाउँघर भएकोले दमकलको कुनै व्यवस्था नभएको पनि उनले बताए ।

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘बाक्सिला बजारमा भीषण आगलागी भैरहेको अत्यन्तै दु:खद घटनाले मर्माहत बनाएको छ । आगो नियन्त्रण गर्ने भरपर्दो कुनै साधन र दक्ष जनशक्तिको अभावमा आगो न्यूनीकरण हुन सकिरहेको छैन । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पालिका अध्यक्ष लगायतलाई तत्काल ध्यानाकर्षण गराइएको छ । यो संकटको सामना धैर्यताका साथ सबैले मिलेर गर्नुको कुनै विकल्प छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !