१३ बैशाख २०८१, बिहिबार

डोटीमा चितुवाको आक्रमणबाट ५ जना स्थानीय घाइते


चितुवा

डडेलधुरा । डोटीमा चितुवाको आक्रमणबाट ५ जना स्थानीय घाइते भएका छन् । हिजो मंगलबार साँझ डोटीको पूर्वीचौकी गाउँपालिका-५, बटालामा चितुवाको आक्रमणबाट बालकसहित ५ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका ४ वर्षीय नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन्।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार जारी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ४ वर्षीया बालक सिद्ध बटाला घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।

बच्चा चिच्याएपछि हल्लाखल्ला गरेर लखेटेको चितुवाले गोठालोबाट घर फर्किदै गरेका सरु, लाली, हसिना र पुस्पालाई पनि आक्रमण गरेको प्रहरीको प्रहरीले बताएको छ । स्थानीयले होहल्ला गरेपछि चितुवा भागेतापनि जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !