६ बैशाख २०८१, बिहिबार

राष्ट्रिय भूमि आयोगले भन्यो – कुनै पनि ठाउँको सुकुम्बासी बस्ती नहटाऊ


राष्ट्रिय भूमि आयोग

काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कुनै पनि ठाउँको सुकुम्बासी बस्ती नहटाउन निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले आज गोरखापत्र दैनिकमा अत्यन्त जरुरी सूचना निकालेर काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले तत्कालै नहटाउन आग्रह गरेको हो ।

राष्ट्रिय भूमि आयोगले आज शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरुलाई असुरक्षित हुने कुनै पनि कार्य नगर्न र नगराउन भनेको हो ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गरिने पनि जनाएको छ ।

आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो । आचारसंहिता लागु नहुने सूचना निर्वाचन आयोगले जारी गरेपछि भूमि आयोगले आफ्ना कामलाई निरन्तरता दिने पनि प्रष्ट पारेको छ ।

यसअघि बुधबार काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको थियो । उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो ।

प्राधिकरणले उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको थियो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख गरिएको थियो ।

प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना अवैध संरचना ३५ दिनभित्र आफैं नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत चेतावनी दिएपछि राष्ट्रिय भूमि आयोगले पनि अत्यन्त जरुरी सूचना निकालेर यस्तो कार्य रोक्न आग्रह गरेको हो ।

यस्तो छ हेर्नुहोस् राष्ट्रिय भूमि आयोगले निकालेको सूचना

राष्ट्रिय भूमि आयोगले निकालेको सूचना

यो पनि पढ्नुहोस्

उपत्यका विकास प्राधिकरणको निर्देशन : अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !