६ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा


कारागार

काठमाडौँ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

यसैबीच, काठमाडौँ उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन् । काठमाडौँका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२ जनाले मतदान गर्न पाउनेछन् ।

कारागार कार्यालय काठमाडौँमा एक सय १० र जगन्नाथदेवलमा २० तथा कारागार कार्यालय ललितपुर ५२ कैदीबन्दीले मतदान गर्नेछन् । कारागार कार्यालय जगन्नाथलेवलमा तीन हजार चार सय, कारागार कार्यालय काठमाडौँमा छ सय ५० र कारागार कार्यालय ललितपुरमा एक हजार चार सय २० भन्दाबढी कैदीबन्दी छन् ।

कारागार कार्यालय जगन्नाथदेवलमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको कार्यालयका उपसचिव वेदप्रसाद खरेलले जानकारी दिए । उनले निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझेर ल्याइएको बताए । आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।

आयोगले यसपटकदेखि मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाएको छ ।

त्यसका लागि देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो । देशभर चार लाख ५० हजार अस्थायी मतदाता छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !