ओलीको दावी : नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो Nepalpatra ओलीको दावी : नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो
१८ मंसिर २०७९, आइतबार

ओलीको दावी : नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताउनुभएको हो ।

“नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।”

देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उनले थपे, “आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बुहमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ ।”

अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुनःजागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

संसारमै भएका नेपालीले देशलाई पीडा परेका बेलामा सहयोग गरेको स्मरण गर्दै उनले भने, “ भूकम्प, बाढीपहिरो, कोभिड–१९ आदि जस्ता महामारीको पीडामा मलम लगाउने हातलाई म धन्यवाद दिन चाहान्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् ।”

पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफूलाई बेवास्ता गरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा गरे ।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपनि जन्मभूमि र जन्मभूमिका नेपालीलाई नबिर्सन आग्रह गरे ।

विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन आज काठमाडौँमा सुरु भएको हो । दुई दिनसम्म चल्ने अधिवेशनको ‘सवल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशनमा ३७ देशबाट ३०० प्रतिनिधिको छन् । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय हुनेछ ।

प्रवासी नेपाली मञ्चको इञ्चार्जका रुपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रवासी नेपालीको देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका रहेको र उहाँहरुको सहयोग र सहकार्यलाई पार्टीले उच्च मूल्याङ्कन गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !