११ बैशाख २०८१, मंगलबार

निहारिका राजपुतको बच्चा र आरोपी शिवराजको डीएनए मिल्यो


निहारिका राजपुत र शिवराज श्रेष्ठ

काठमाडौं । ‘कुमारी आमा’ का रुपमा चिनिएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ ।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले पुष्टि गरे ।

उच्च अदालत जनकपुरले गत भदौं ८ गते निहारिकाको बच्चा र शिवराजको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि भनेर डिएनए परीक्षण माग गर्दै आएकी थिइन् ।

निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको आरोप लगाउँदै न्यायका लागि संघर्ष गर्दै आएकी छिन् । उनले डिएनए रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै आएकी छिन् ।

यसअघि अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराजलाई यसअघि नै पक्राउ गरिसकेको थियो । हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ ।

निहारिकाको मुद्दा हाल उच्च अदालत जनकपुरमा विचाराधीन छ । अदालतको पेशीमा ढिलाइ गरिएको भन्दै निहारिकाले आज प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !