१५ बैशाख २०८१, शनिबार

छठ पर्वमा रमाए बालबालिका


छठ पर्वमा रमाए बालबालिका

टङ्कीसिनवारी । सूर्य भगवान्को आराधना एवं षष्ठी माताको पूजा गरी कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वमा आज आइतबार विराटनगरका नदी किनारमा बालबालिकाको उल्लेख्य उपस्थिति थियो ।

विराटनगरको सिङ्घिया र केशलीया नदीलगायत पोखरी, नहरको किनारमा रङ्गीचङ्गी पताका एवं झण्डाले सजाइएको छठ घाट देखेर बालबालिका प्रफुल्ल बनेका थिए । अभिभावकसहित सयौँको सङ्ख्यामा विराटनगरका विभिन्न जलाशय किनारमा पुगेका बालबालिकामध्ये कतिपयले अभिभावकसँगै पानीमा डुबेर अस्ताउँदै गरेको सूर्यलाई दूध एवं जलको अर्घ्य दिएका थिए ।

विराटनगर–१ को सिङ्घिया नदी किनारमा बाबुआमासँगै बालबालिकाले नदीभित्रै पसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन सघाएका थिए । सिङ्घिया नदी किनारमा बालबालिकाले पटाका पड्काएर रमाइलोसमेत गरेका थिए भने बेलुन किन्न मरिहत्ते गरेका थिए । कतिपय बालबालिका मोबाइलमा सेल्फी लिन व्यस्त देखिन्थे ।

सिङ्घिया नदी किनारमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको प्रशस्तै बालबालिकाले मज्जा लिएका थिए । सांस्कृतिक कार्यक्रमको मज्जा लिँदै बालबालिकाले पनि दर्शकदिर्घाबाट स्वःस्फूर्त रूपमा नृत्य गरेका थिए ।

विराटनगर–१ की सात वर्षीया नैना गुप्ताले सिङ्घिया नदी किनारमा छठ पूजा हेर्न आएको बताए । उनले यहाँ रहेको सूर्य भगवान्को मूर्ति, झिलीमिली सजाइएको छठ घाटले मनै लोभ्याएको बताए । गुप्ताले बाबा र आमालाई अघ्र्य दिन सघाएका थिए ।

विराटनगर–३ का ११ वर्षीय रूवल कार्कीले पहिलो पटक छठ कसरी मनाइन्छ भनेर हेर्न आएको बताए । उनले नदीभित्र पसेर मानिसले सूर्यको पूजा गरेको अनौठो लागेको बताए । नदी किनारमा चटपटे खाँदै सांस्कृतिक कार्यक्रम हेर्न पाउँदा खुशी भएको उनको भनाइ थियो ।

समाजसेवी बाबुराज ओझाले छठ पर्वले बालबालिकामा सकारात्मक बाल मनोविज्ञान विकसित गर्न सघाउ पुग्ने बताए । उनले छठ पर्वमा प्रत्यक्ष सहभागी भएर बालबालिकाहरू आफ्नो धर्म, संस्कृति र परम्पराको बारेमा अझ बढी जानकार हुने बताए । ओझाले छठ पर्वप्रति बालबालिकाको कौतुहलताले भावी सन्ततिलाई आफ्नो संस्कृति र परम्पराप्रति झनै आस्थावान बनाउन सघाउने तर्क गरे ।

युवा अभियानकर्मी विक्रम पौडेलले अस्ताउँदो र उदाँउदो सूर्यलाई दूध चढाएको देख्दा बालबालिकामा पनि ऊर्जावान् र सामर्थ्यवान् बनी देश सेवामा लाग्न प्रेरणा मिल्ने बताए । विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयका पूर्वप्राचार्य तुलसी दुलालले छठले बालबालिकालाई नेपालको सांस्कृतिक विविधताबारे जानकार गराएको बताए । छठमा सहभागी भएर बालबालिकाले पढेर मात्र नभई आफैँ सिकेर नेपालको मौलिक परम्परा, संस्कृतिलाई अक्षुण राख्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !