१२ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोकको तौथलीमा मनाइयो अनौठो दही जात्रा


दही छ्याप्ने जात्रा फाइल फोटो

मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमातले दहीको ठेकी र बाल्टिनबाट अबिर मिसिएको दही निकाली एकअर्कालाई छ्यापाछ्याप गर्दै जात्रा मनाएका हुन् ।

तौथलीमा प्राचीन तथा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरी देवीको मन्दिर छ । विशेषगरी बडादसैँको एकादशीको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । भक्तजन मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ त्रिपुरासुन्दरी देवीको दर्शन गर्न टाढाटाढाबाट आउने गरेका छन् ।

जल्लाकै ‘छुट्टै देश’ मानिने पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरीमा ‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजा विधिसहित ल्याइएका) छ वटा परम्परागत लिङ्गोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ ।

भूकम्पपछि पुरातत्व विभागको बजेटमा पुनःनिर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरमा यो वर्ष मात्रै देवीलाई राखिएको छ । महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको बध गर्नुभएको खुशियालीमा किरातकालदेखि हालसम्म दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।

दही जात्रा हालसम्म तौथलीमा मात्र मनाइँदै आएको छ । गुठियार र स्थानीयवासीले गाईभैँसी नथाकुन् र पशुपालन, व्यवसाय सप्रिँदै जाओस् भनी कामना गर्दै यसरी दही ल्याएर चढाउने गर्दछन् । दही प्रसादका रूपमा बाँड्ने गरिएको छ । हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैँको फूलपातीबाट नै सुरु हुने गरेको छ ।

फूलापातीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउँछन् । जसमा देवीको कृपाले बाँचेको एउटामात्रै माछालाई बलि चढाएर यहाँको पूजा सुरु हुन्छ । महाअष्टमीको दिन कालो रङको बोकाको मात्रै बलि दिइन्छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष बोहोराका अनुसार दशमीको रात वर्षमा एक पटक देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, नागनागिनी, स्याल कहनजस्ता दर्जनौँको नृत्यसहित जात्रा लाग्ने गरेको छ । दही जात्रा सकिएपछि विधिवत्रूपमा तौथली माईअर्थात् त्रिपुरासुन्दरी माईको जात्रा यो वर्षको लागि सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !