१२ बैशाख २०८१, बुधबार

मकवानपुरको भिमफेदीमा मिनीबस दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु


भिमफेदीमा मिनीबस दुर्घटना

हेटौडा । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको जुरीखेतमा मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले जानकारी दिएको हो ।

प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको मिनिबस भीमफेदीको आरोलोमा सडकबाट करिब ६० मिटर तल खसेको हो । उक्त मिनिबस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो ।

दुर्घटनामा गम्भीर घाईते भएकालाई काठमाडौं पठाईएको छ भने सामान्य घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ । केही यात्रुहरु बसभित्र थिचिएको अवस्थामा रहेको आशंका गरिएको छ । हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । बसमा कति यात्रु थिए भन्ने अझसम्म खुलिसकेको छैन् ।

दुर्घटनामा परी दर्जनौँ घाइते भएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा अहिले पनि प्रहरीको टोलीले घाइतेहरूको उद्धार कार्य जारी राखेको छ । दुर्घटनाको बारेमा थप विवरण आउँन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !