७ जेष्ठ २०८१, सोमबार

याङ्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु


पाइप विच्छ्याउन सुरु

काठमाडौँ । मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप विच्छ्याउन थालिएको हो ।

दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप विच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले राससलाई जानकारी दिएका छन् ।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साँढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप विच्छ्याइने छ । साँढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने एक हजार ६०० मिलिमिटरको पाइप विच्छ्याइने छ । याङ्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप विच्छ्याइएको उनले सुनाए ।

वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप विच्छ्याउन थालिसकेको छ ।

हवास उई कङ्काई कम्पनी जेभीले पाइप विच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । रु दुई अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठूला पाइप विच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठूला पाइप विच्छ्याइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !