१२ जेष्ठ २०८१, शनिबार

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, बाढीले डेढ दर्जन घर बगाउँदा ११ बेपत्ता


दार्चुला बाढी-पहिरो

दार्चुला । दार्चुला जिल्लामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने बाढीले करिब डेढ दर्जन घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । हिजो शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण दार्चुलामा ठूलो जनधनको क्षति भएको हो ।

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी १ जना महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परी ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।

यस्तै पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यद्यपि शुक्रबार राति १ बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।

अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानेको छ । हालसम्म ११ जना बेपत्ता भएको प्रहरीले बताएको छ ।

लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । उद्धार कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए । रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको बताइएको छ ।

दार्चुला टिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल बगाएको छ । कटान अझै जारी रहेको छ । बाढीले लास्कु खोला र महाकाली नदीमा ठूलो बाढी आएको छ ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन स्थानीय सबैमा अनुरोध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !