७ बैशाख २०८१, शुक्रबार

गोंगबु बसपार्क क्षेत्रमा चल्यो काठमाडौँ महानगरको डोजर


महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रमा पनि डोजर चलाएको छ । काठमाडौं महानगरले आज गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाएको हो ।

महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई जारी राखेको हो । महानगरका नगर प्रहरी बल प्रमुख राजु पाण्डेका अनुसार म्हेपीदेवीबाट मित्रनगर तर्फ जाने सडकमा महानगरले डोजर प्रयोग गरेर अवैध संरचनाहरु हटाउन थालेको हो ।

महानगरले गोंगबु बसपार्क क्षेत्रमा रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरू हटाइएको हो । अवैध संरचना हटाउन पटक-पटक आग्रह गरेपनि बेवास्ता गरेकोले महानगरको टोलीले आज गोंगबु बसपार्क क्षेत्रमा अवैध संरचना हटाएको हो ।

आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए ।

महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उनको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताए ।

“मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ”, उनले भने । काठमाडौँ महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !