७ मंसिर २०८१, शुक्रबार

महाकालीमा बगेर दुई किशोरी र कालीगण्डकीले बगाउँदा बृद्व बेपत्ता


खोलाले बगाएर फाइल फोटो

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् ।

कालीगण्डकी नदीले बगाउँदा बृद्व बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका-५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका-३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !