७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति कार्यालयअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ


निहारिका राजपुत

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिकालाई प्रहरीले पक्राउ गरेको हो ।

आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको गुनासोसहित आन्दोलनरत निहारिकाले शीतल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी थिइन् । उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको हो ।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताए । उनले आफ्नो बच्चाको डीएनए जाँच गर्नको लागि माग गर्दै अनसनसमेत बसेकी थिइन् ।

जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेर ‘ब्ल्याकमेल’ गरेको निहारिकाको आरोप छ । शिवराजले आफूमाथि बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको दावी रहेको छ ।

जिल्ला अदालत धनुषाले २०७८ साल माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरमा भने उनको मुद्दा विचाराधीन रहेको छ । न्याय नपाएपछि उनी आत्मदाह गर्ने अवस्थामा उने पुगेको हुनसक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !