१४ बैशाख २०८१, शुक्रबार

म्याग्दी पहिरो : थप ३ जनाको शव भेटियो, एकै परिवारका ५ जनाको मृत्यु


म्याग्दी पहिरो

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ । मङ्गलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए ।

“पहिरोबाट शव निकालिएको छ, मृतक सबै एकै परिवारका हुन, बिहान दुई जनाको शव भेटिएको थियो, अहिले तीन जनाको भेटिएको छ”, वडा सदस्य पुनले भने । खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण बर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो । पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालिएको थियो भने घामबहादुर विक, राजु विक र रोजी विकको शवसमेत निकालेर कानुनी प्रक्रियाको काम भइरहेको छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए । बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए । पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए ।

“घरका सबै निन्द्रामा भाग्दाभाग्दै पहिरोमा परे, एकैपटक आएर घर पुरियो”, घाइते अवस्थामा भेटिएकाको भनाइ उद्यृत गर्दै वडा सदस्य भक्तिबहादुर घर्तीले भने । घाइतेको रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ ।

पहिरोमा परेर ज्यान गुमाउनेप्रति मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुःख व्यक्त गरेका छन् भने घाइतेको उपचार र मृतकको परिवारलाईसमेत राहत उपलब्ध गराउने बताएका छन् । यसैबीच बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !