१९ पुस २०८१, शुक्रबार

बीमा रकम हात पार्न नक्कली बिहे गरेर युवकको हत्या, आरोपमा ६ जना पक्राउ


नक्कली बिहे

काठमाडौं । बीमा रकम हात पार्न नक्कली बिहे गरेर एक युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा रहेका छन् ।

उनीहरुले सवारी दुर्घटना गराएर बिमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । उनीहरुलाई संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको सीआइबीले जनाएको छ ।

विवादअघि नै उनीहरुले सर्जनको जीवन बिमा र म्यादी जीवन बीमा गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ ।

यो गिरोह समुहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्युपछि बिमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !