२६ बैशाख २०८१, बुधबार

विध ल्याबका सञ्चालक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


भीमकान्त भण्डारी

काठमाडौं । विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीले ६ करोड २४ लाख बराबरको अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै २०७३ साल असोज २१ गतेदेखि २०७७ साल साउन १ गतेसम्म गरी लगभग ४ वर्ष सरकारी सेवामा रहेका उनको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र अवैध रूपमा आर्जन गरेको अख्तियारले दाबी गरेको हो ।

स्थानीय विकास प्रतिष्ठान कलवलगुडी झापाका तत्कालिन बरिष्ठ व्यवस्थापन सहायक भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भनी उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जानकारी दिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । २०७३ असोज २१ गते राजपत्रअनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले २०७७ साउन १ गतेमा स्वेच्छिक अवकाश लिएका थिए ।

आयोगका अनुसार सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधिअघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आयआर्जन गरेको देखिन्छ ।

खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको हो ।

उनको कुल आय आर्जन र उनले गरेको कुल खर्च तथा लगानी (व्यय) घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् अख्तियारले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !