६ जेष्ठ २०८१, आइतबार

हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदा पुनःनिर्माण भएनन्


hanumandhoka darbar

१९ वैशाख, काठमाण्डौ । भूकम्पको तीन वर्ष बित्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका दर्जनौं सम्पदाको पुनःनिर्माण शुरु हुन सकेको छैन । पुनःनिर्माण शुरु भएका गद्दी बैठक नौतले दरबारलगायत सम्पदाको काम पनि सुस्त गतिमा भइरहेको छ ।

सम्पदा पुनःनिर्माण नहुँदा विदेशी पर्यटक आउन कम भएको पर्यटन व्यवसायीको भनाइ छ । बीस वर्षदेखि हनुमानढोका दरबार क्षेत्रमा पर्यटकका लागि रिक्सा चलाउँदै आउनुभएका धादिङका विशाल लामा भूकम्पको दुई वर्षसम्म पर्यटक न्यून आएकामा विसं २०७४ पछि केही बढ्न थालेको बताउँछन् ।

वसन्तपुर दरबार क्षेत्रका मजु देग जोशी परिवारको गुठीका रुपमा रहेको नारायण मन्दिर,लक्ष्मीनारायण मन्दिरको पुनःनिर्माणको पत्तो छैन । नौ खुड्किला र तीन तलाको मजु देगलगायत मन्दिरमा जाने ढोकामा ताला लगाएर राखिएको छ । पुनःनिर्माणको सुरसार छैन ।
लक्ष्मीनारायण मन्दिर अघिल्तिरको महादेव मन्दिर अझै टेको लगाएर राखिएको छ । स्थानीय रामशंकर श्रेष्ठ गद्दी बैठकको काममा खटिएका कामदार चार दिन काम गरेपछि हप्तौँ बेपत्ता हुने गरेको बताउँछन् । यस किसिमले पुनःनिर्माणमा वर्षौँ लाग्ने र पुरातात्विक,साँस्कृतिक एवं मौलिक हिसाबले महत्वपूर्ण सम्पदाको अस्तित्व संकटमा पर्नेमा उनको चिन्ता छ । दरबार क्षेत्रको प्रमुख सम्पदा काष्ठमण्डपको पुनःनिर्माण पनि हुनसकेको छैन ।

यस्तै काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले मंगलबार भेला आयोजना गरे । भेलाले काष्ठमण्डप पुनःनिर्माण गर्न भन्दै प्रदेशसभा सदस्य राजेश शाक्यको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरेको छ । गत वर्ष वैशाख २९ गते काष्ठमण्डप पुनःनिर्माणका गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण,पुरातत्व विभाग,महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानकाबीच भएको सम्झौता तीन महिनामै भंग गरी महानगरपालिकालाई जिम्मेवारी दिइएको थियो । महानगरले अहिलेसम्म काम शुरु गर्नसकेको छैन । पुरातत्व विभाग प्राविधिक शाखा प्रमुख सम्पत घिमिरे हनुमानढोका दरबार क्षेत्रका दुईवटा सम्पदा विभागले पुनःनिर्माण गरिरहेको समेत बताए ।

विभागले पुनःनिर्माण गरिरहेका सम्पदामा दशावतार र छ्यासिङ देगु छन् । गद्दी बैठक र नौतले दरबारबीचको भवन पनि विभागले पुनःनिर्माण गर्ने समेत उनले बताए । महानगरपालिकाले काष्ठमण्डप,नगरा र मजुदेग पुनःनिर्माण गर्ने सहमति भएको छ ।

महानगरपालिकाले अहिलेसम्म काम शुरु गर्नसकेको छैन । काठमाडौं उपत्यका सम्पदा संरक्षण ट्रष्टले कागेश्वरीको पुनःनिर्माण सम्पन्न गरेको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गोपीनाथ र जगन्नाथ मन्दिरको जीर्णोद्धार गर्नेछ । नौतले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको छ । यसको काम ६० प्रतिशत सम्पन्न भएको विभागले जनाएको छ ।

अमेरिकी सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको गद्दी बैठकको पुनःनिर्माण ८० प्रतिशत सम्पन्न भएको छ । केही सम्पदा पुनःनिर्माण भए पनि काम सुस्त रहेको स्थानीयवासीको गुनासो छ । धेरै सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन । काष्ठमण्डपलगायत महत्वपूर्ण सम्पदा भने अझै पुनःनिर्माण शुरु हुनसकेको छैन ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !