काठमाडौं । काठमाडाैं उपत्यकाको फोहोर आज मंगलबारबाट उठ्दै छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने हिजो सोमबार सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको हो ।
सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि आजदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच हिजो सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।
हिजो सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको थिएन । सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका हुन् ।
हिजोको बैठकमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाउनुका साथै प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको थियो ।