३ असार २०८१, आइतबार

सिरिजंगा समाजद्वारा जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना प्रदान कार्यक्रम आयोजना


सिरिजंगा सरोकार समाज नेपाल

काठमाडौँ । सिरिजंगा सरोकार समाज, नेपालले हिजो स्थानीय तहको निर्वाचनवाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना प्रदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त समाजका केन्द्रीय अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईको सभापतित्वमा काठमाडौं, बागबजार स्थित ह्यापी क्याफेको सभाहलमा ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँ पालिका नवनिर्वाचित उपाध्यक्ष डा. चित्र माबोलाई बधाइ तथा शुभकामना प्रदान सम्बन्धी कार्यक्रम भव्यताका साथ आयोजना गरेको हो । संस्थाका अध्यक्ष भट्टराईले नवनियुक्त उपाध्यक्ष माबोलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना अर्पण गरेका थिए ।

उक्त बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उक्त गाउँपालिकाका निवर्तमान अध्यक्ष टिकाराम गुरुङ्गलाई समेत सम्मान गरिएको थियो । निवर्तमान अध्यक्षले सिरिजंघा गा.पा.को शुसासन, शिक्षा, स्वास्थ्य, विकासनिर्माण, सामाजिक, साँस्कृतिक, आर्थिक तथा पर्यटनका क्षेत्रमा गरिएको परिवर्तनगामी कार्यक्रमले सिरिजंघा गाउँपालिकाको परिर्वनमा सकारात्मक प्रभाव परेको आम नागरिकले महसुस गरेको र सो कार्यक्रमलाई निरन्तरता र नयाँ कार्यक्रम ल्याई जनताका समस्याहरुसँग जोडी अगाडी बढ्न नवनिर्वाचित उपाध्यक्ष लगायतलाई शुभकामना दिए ।

आफू निर्वतमान भएपनि आफ्नो मन, ध्यान र सोच गाउँपालिका सँग नै जोडिरहेको हुँदा आफू जहाँ भएपनि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सक्दो सहयोग गर्ने बाचा समेत निवर्तमान अध्यक्ष गुरुङ्गले उल्लेख गरे । सिरिजंघा सरोकार समाज नेपालको प्रारम्भदेखि आफूलाई जानकारी भएको सन्दर्भ उल्लेख गर्दै सिरिजंघा गा.पा.को विकासमा सिरिजंघा सराकोर समाजलाई अनुसन्धान कार्य, विकास निर्माणको खाँका तर्जु गर्न, समिक्षा गर्न, थिंक ट्याङ्क तथा काठमाडौं र सिरिजंगालाई जोड्ने सेतुको रुपमा उपयोग र साथ लिन सक्ने तर्फ औल्याए ।

यसैगरी कार्यक्रममा फुङ्लिङ्ग नगरपालिकाका उपप्रमुख तारा भट्टराई, फत्तालुङ्ग गाउँपालिकाका कार्यसमितिका सदस्य डण्डु शेर्पा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय कार्यसमितिका सदस्य एवं ताप्लेजुङ्ग जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री (पराग) र नेपाली काग्रेस ताप्लेजुङ्ग जिल्ला कार्यसमितिका पूर्वअध्यक्ष केशव प्रसाद दाहालहरुलाई समेत सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरुले समेत नव निर्वाचित उपाध्यक्षलाई बधाइ दिंदै कार्यकाल पूर्ण सफल रहन सकोस् भन्ने शुभकामना दिएका थिए । साथसाथै सिरिजंघा समाजलाई बौद्धिक समाजको रुपमा विकास गर्नुका साथै विशुद्ध सामाजिक संस्थाका रुपमा विकास गरी सिरिजंगा गा.पा.को विकासमा खबदारी गर्ने, जनचेतना जगाउने, विकासका विभिन्न कार्यक्रममा छलफल गर्ने, सार्वजनिक सुनुवाईका माध्यमबाट खबरदारी र जनचेतना जगाई विकास निर्माणमा जनता र सरकारलाई जोड्ने रसायनको काम यस सिरिजंघा सरोकार समाजले गर्न सकोस् भन्ने समेत धारणा राखे ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं यालुङ समाजका अध्यक्ष प्रेम गुरुङ्ग, अधिवक्ता रणबहादुर थेवे, समाजसेवी भक्ति भट्टराई, समाजका सदस्य एबं ताप्लेजुङ सरोकार समाजका सदस्य अधवक्ता जीबन राई ‘चिन्तन’ लगायतका महानुभावहरुले समेत सिरिजंघा सरोकार समाज र सिरिजंगा गा.पा.को विकास निर्माण्का क्षेत्रमा विविध विचार राखेका थिए ।

यस कार्यक्रमलाई संबोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष डा. चित्र माबोले सिरिजंघा गा.पा.को समग्र विकासलाई मेरो सफलता भन्दा पनि सिरिजंघा गाउपालिकाको सफलता सँग जोडेर हेर्ने प्रतिवद्धता रहेको, सिरिजंघाको विकासमा यस समाजको सकारात्मक भूमिकालाई सदै स्वागत र साथ लिएर अघिबढ्ने, यस समाजको सचेत नागरिक समाजको रुपमा आफूले ग्रहण गरेको साथसाथै सिरिजंघाको बौद्धिक जगतका रुपमा सिरिजंगा समाजलाई बुझेको उल्लेख गर्दै आफूलाई यस समाजले काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रम गरी दिएको सम्मानप्रति हार्दिक धन्यवाद सहित आभार प्रदान गरे ।

उक्त कार्यक्रममा सिरिजंघा सरोकार समाज नेपालका विभिन्न गतिविधिहरु, समाजका उद्देश्य, भावी कार्यक्रम, सिरिजंघा राजाको १०० फिट अग्लो प्रतिमा सहितको बोटानिकल गार्डेन, पर्यावरणको सन्तुलन, विकास विनास नभई सकारात्मक परिवर्तन हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी वातावरणरण सन्तुलन सहितको दीगो विकासमा फट्को मार्न आवश्यक सहयाग खास गरी अनुसन्धानकर्ताका रुपमा, थिङ्क ट्याकका रुपमा, रिसोर्स पर्सनको रुपमा, नागरिक समाजको खबदारीका रुपमा, नागरिक सचेतकका रुपमा, सरकार र नागरिकको सेतुका रुपमा र सजेत बर्गका रुपमा ससक्त भूमिका खेल्ने तर्फ यो समाज अघि बढिरहेको, गाउँपालिकासँग सहकार्यृ गर्न समाज खुल्ला रहेकोे धारणा समाजका अध्यक्ष भट्टराईले राखे । साथै समाजको यस कार्यक्रममा सहभागी हुने सबैलाई विशेष धन्यवाद प्रदान गरे ।

यस समाजको संस्थापनादेखि सस्थाको परिचय उल्लेख गर्दै यस संस्थाका विविन्न विभाग, सदस्यता, सहभागिता लागयतका विविध पक्षहरुको चर्चा गर्नुका साथै कार्यक्रमको संचलन समेत सस्थाका सचिव अधिवक्ता जीवन कुमार बस्नेतले गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !