१६ जेष्ठ २०८१, बुधबार

शिशु बुद्धलाई लुम्बिनीबाट कपिलवस्तु दरबार ल्याइयो


Buddha

१८ वैशाख, कपिलवस्तु । २५६२ औँ बुद्ध जयन्ती मंगलबार विविध कार्यक्रमसहित समापन भएको छ ।

आइतबारदेखि औपचारिक रुपमा सुरु गरिएको बुद्ध जयन्ती कार्यक्रमलाई मंगलबार शिशु बुद्धलाई लुम्बिनीबाट राजा शुद्धोदनको राजदरबार क्षेत्र तिलौराकोट भित्र्याउँदै बुद्ध जयन्तीको कार्यक्रम समापन गरिएको हो ।

२५६२ वर्षअघि गौतम बुद्धको जन्म लुम्बिनीको एक बगैँचामा भएपछि शिशु बुद्धलाई उनका पिता राजा शुद्धोदनले गाजाबाजासहित दरबार भित्र्याएको झल्को दिँदै आज शिशु बुद्धलाई तिलौराकोट दरबार क्षेत्रमा भित्र्याइएको छ ।

कार्यक्रममा पाँच नम्बर प्रदेशका कृषिमन्त्री चक्रपाणी खनाल, पूर्व पर्यटन तथा संस्कृति मन्त्री दिपकुमार उपाध्याय, संघीय सांसद बृजेशकुमार गुप्ता लगायत प्रदेशसभा सांसदहरुले संयुक्त रुपमा शिशु बुद्धलाई उनको गृहनगर प्राचीन कपिलवस्तुमा भित्र्याइएका थिए । विगतका केही वर्ष अघिदेखि बुद्ध जयन्तीलाई थप भव्यता प्रदान गर्न शिशु बृद्धलाई गृहनगर कपिलवस्तु ल्याउने चलन सुरु गरिएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो ।

तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइएको बुद्ध जयन्तीमा १० बुँदे लुम्बिनी घोषणापत्रसहित अन्तराष्ट्यि बौद्ध सम्मेलन पनि सम्पन्न भएको छ । सम्मेलनले पारित गरेको घोषणा पत्रलाई अक्षरशः पालना गर्ने प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाउनु भएको छ । (गोपाल भण्डारी/उज्यालो)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !