काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियन राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटघाट तथा छलफल भएको छ ।
मन्त्री आले तथा राजदुत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले युरोपियन युनियनईयुको सेफ्टी लिष्ट (प्रतिबन्ध) बाट नेपाललाई कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिए ।
उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले राजदुत डिप्रेजलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओले नेपालले उडान सुरक्षाको आठ क्षेत्रमा नियामक निकायको हैसियतमा पालना गरेका कार्यहरुको परिक्षणमा परिपालना दर प्रारम्भिक नतिजा अनुसार ७०.१ प्रतिशत रहेको र जुन विश्वको औषत भन्दा बढी भएकाले नेपाली आकाश सुरक्षित रहेको बताए । उनले भने, “आइकाओको नतिजा अनुसार नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाल ईयुको प्रतिबन्धसूचीबाट हट्नु पर्छ ।”
मन्त्री आलेसँगको भेटका क्रममा राजदुत डिप्रेजले नेपाल ईयुको प्रतिबन्ध सूचीबाट हटाउने भन्ने कुरो प्राविधिक विषय भएकाले यस बारे विशेष छलफल गरी जानकारी गराउने बताए । आठ वर्ष अगाडि ईयुले नेपालको हवाइ सुरक्षा कमजोर भएको मुल्याङ्कन गर्दै कालो सूचीमा राखेको हो ।
उता नेपालले हवाई सुरक्षाको क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपालको नाम आफ्नो कालो सूचीबाट हटाइ सकेको छ । ईयुले नेपालको हवाइ क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो ।
सोही भेटवार्ताका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले हाल प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्ड अनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको दाबी गरे ।
हाल नेपाल वायुसेवा निगम, बुद्ध एयर र हिमालय एयरलाइन्स गरी तीनवटा नेपाली वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भएता पनि ईयुको कालो सूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्थामा नभएको बताइएको छ ।