१२ बैशाख २०८१, बुधबार

केडिया अपहरणमा संलग्न अभियोगमा नेविसंघका केन्द्रीय सदस्य पक्राउ


businessman kidnap

बारा– उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको अभियोगमा नेपाल विधार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई सोमबार बेलुका बारा प्रहरीले पक्राउ गरेकाे छ। बारा प्रहरीले यादवलाई महागढीमाई नगरपालिका २ बाट पक्राउ गरी नियन्त्रण लिएकाे हाे।

महागढीमाई नगरपालिकाका काँग्रेसका नगर सभापति भूलेन्द्र यादवका अनुसार वीरेन्द्र यादवसँग केही सोध्नको लागि बोलाएर प्रहरीले उनलार्इ सोमबार बेलुकादेखि नै नियन्त्रणमा लिएको जानकारी गराएका छन्। अपहरण अभियोगमा नाम मुछिएपछि यादव केही दिनदेखि लुकिछिपी बस्दै आएका थिए।

बाराका प्रहरी नायव उपरीक्षक विनोद शर्माले यादव पक्राउ परेकाे बताए पनि राखेको ठाउँबारे केही खुलाएनन्। शर्माले अनुसन्धानको विषय भएकोले थप कुरा गर्न नमिल्ने बताए।

जेठ १३ गते बिहीबार बेलुका महागढीमाई नगरपालिका १ पसाहा खोलको पुलबाट अपहरणमा परेका वीरगन्ज खाद्य उद्योगका सञ्चालक सुरेश केडियालाई केही दिन पहिला भारतको मोतिहारीबाट अपहरणमुक्त गराइएको छ।

अपहरणकारीले केडियालाई अपहरण गर्ने क्रममा उनका गाडी चालक श्याम उमेश साहलाई गोली प्रहार गरेका थिए। यसअघि बरियारपुरबाटै केडियालाई अपहरण गराएको अभियोगमा बरियारपुरका पुष्कर सिंह, कवहीका चन्चल पाण्डे र इनर्वाका जियालाल यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

भारत बिहारको बक्सर कारागारमा रहेका कुख्यात अपराधी बब्लु दुबेले बरियारपुर आसपासका केही स्थानीयहरुलाई प्रयोग गरी उद्योगी केडियाको अपहरण गराएको खुल्न आएपछि प्रहरीले अनुसन्धानको लागि यादवलाई पनि नियन्त्रणमा लिएको बारा प्रहरीका प्रहरी अधिकृतले बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !