७ बैशाख २०८१, शुक्रबार

आज बिहान ६ बजेदेखि देशभर सवारी साधन चलाउन नपाइने


काठमाडौं उपत्यका

काठमाडौं । आज बिहान ६ बजेदेखि देशभर सवारी साधन चलाउन नपाइने भएको छ । स्थानीय तहको निर्वाचनको दिन आज शुक्रबार बिहान ६ बजेदेखि पूर्णरुपमा सवारी साधन चलाउन नपाइने भएको हो ।

आज बिहान ७ बजेदेख मतदान सुरु हुने भएकाले बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा निषेध गरिएको हो । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अप्रिय घटना हुन नदिन सवारीसाधन चलाउन निषेध गरिएको प्रहरीले बताएको छ ।

यो अवधिमा पास लिएका अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् । यद्यपि बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न पाइने छ । ट्राफिक प्रहरीले हिजै राति १२ बजेपछि सवारीसाधन नचलाउन अनुरोध गरेको थियो, तर आज बिहान ६ बजेदेखि पूर्णतः निषेध गर्ने भएको हो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले हिजो भने, ‘आजै राति १२ बजेपछि सवारीसाधन नचलाउन हाम्रो अनुरोध हो, बिहान ६ बजेदेखि त पूर्णतः निषेध नै गरिन्छ ।’

एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नहोस्, अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !