२२ बैशाख २०८१, शनिबार

बालुवाटारमा गठबन्धनको बैठक जारी रहँदा अमेरिकी राजदूतको इन्ट्री


-यान्डी बेरी

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएपछि सहमतिको बिन्दुमा पुग्न पुन: बैठक बसेको हो ।

यसै वीच गठबन्धनको बैठक जारी रहेकै बेला नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको बालुवाटार इन्ट्री भएको छ । गठबन्धनमा चुनावी तालमेलको बारेमा सहमतिउन्मुख हुँदै गरेको अवस्थामा राजदूत बेरीको बालुवाटार प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि उनी बालुवाटार प्रवेश गरेको बताइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार पूर्व निर्धारित भेटघाट अनुसार नै राजदूत बालुवाटार आएको बताएको छ ।

यसअघि पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदवाट पारित गराउन महत्वपूर्ण भूमिका खेलेका राजदूत बेरीको कार्यकाल समाप्त हुन लागेको बेला फेरि सक्रिय हुन त खोजेका होइनन् भन्ने जस्ता टिका-टिप्पणी हुन थालेको छ ।

डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा थम्पसन नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चैत्र १६ गते बुधबार जानकारी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !