६ बैशाख २०८१, बिहिबार

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई दज्र्यानी चिह्न प्रदान


पुष्पराम केसी

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को हिजोको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई हिजै गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्नबाट समेत सुशोभन गरे ।

गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनु भएकोमा उनलाई बधाई दिदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे । उनले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विसं २०२३ साल भदौ १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा जन्मिएका सशस्त्र प्रहरी महानिरीक्षक केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकास लिएकाले सरकारले केसीलाई हिजो महानिरीक्षकमा पदोन्नति गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !