६ जेष्ठ २०८१, आइतबार

मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु


काठमाडौं । १८ प्रतिशत स्थानीय तह ओगटेको मधेस प्रदेशमा तराई/मधेस केन्द्रित दलका नेताहरूको दौडाधुप सुरु भएको छ। ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तह मधेस प्रदेशमा छन् ।

त्यसैले मधेसकेन्द्रित दलका नेताहरू मधेसका बढी भन्दा बढी स्थानीय तहमा विजयी हुन विभिन्न रणनीति बनाई सक्रिय भएका छन्।

अहिले तराई/मधेसकेन्द्रित दलका धेरैजसो नेता मधेसका विभिन्न जिल्लामा छन् । पार्टीका शीर्ष नेताहरू काम विशेषले काठमाडौं आए पनि एक या दुई दिन मात्र काठमाडौं बस्ने गरेका छन् । उनीहरू पुनः मधेसमै फर्कने गरेका छन् ।

यहाँसम्म कि भरखरै पार्टी खोलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि लामो समयदेखि मधेसमै छन् । जनता समाजवादी पार्टीले आफ्ना सबै केन्द्रीय सदस्यहरूलाई चुनाव सम्पन्न नभएसम्म अनिवार्य आफ्नो पालिकामा बस्न उर्दी जारी गरेको छ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका सबैजसो शीर्ष नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल अहिले मधेसमै छन् । लोसपाका नेता राजेन्द्र महतो शुक्रबार राति जनकपुरबाट काठमाडौं आए । शनिबार एक दिन मात्र काठमाडौं बसेर आइतबार बिहानै उनी पुनः जनकपुर फर्कने भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !