११ पुस २०८१, बिहीबार

पञ्चेश्वर परियोजना अघि बढाउन प्रधानमन्त्री देउवा र मोदी सहमत


देउवा र मोदीवीचको भेटवार्ता

नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पञ्चेश्वर परियोजना अघि बढाउन सहमत भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजना यथासिघ्र अघि बढ्ने बताएका हुन् ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमति गरिएको स्पष्ट पारेका छन् । उनले भने, ‘पञ्चेश्वर परियोजनालाई अघि बढाउन सहमति गरेका छौं । यो परियोजना गेमचेन्जर बन्नेछ ।’

बैतडीको पञ्चेश्वर गाउँपालिका-१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको ६ दशकदेखि सुनिँदै आएको हो । तर अहिले भने यहाँका नागरिकको आशा पनि निराशामा बदलिएको छ । यतिका दशकसम्म चर्चामात्र भएको र काम सुरु हुनै नसकेको यो आयोजनाबाट लाभान्वित हुन पाउँला भन्ने नै यहाँका नागरिकलाई लाग्न छोडिसकेको छ ।

करीब ६५ वर्षअघि देखि चर्चामा रहेको आयोजनाको काम नेपाल–भारतबीच पानी बाँडफाँटका विषयमा कुरा नमिल्दा अझै अन्योल बढ्दै गएको बताउने गरिएको छ । यद्यपि, आयोजनाको काम अघि बढाउन आलटाल गर्दै आएको भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने भनिएको ३५० क्युसेक पानी पनि दिन आलटाल तथा अनेक बहानाबाजी गरिरहेको पाइएको छ ।

महाकाली नदीबाट भारततर्फ लगेको शारदा नहरबाट महाकाली नगरपालिकाको सीमासम्म भारतले नहर निर्माण गरी ३५० क्युसेक पानी दोधारा चाँदनीलाई उपलब्ध गराउनुपर्ने सर्त सम्झौतामा उल्लेख रहे पनि महाकालीवासीले अझै सिँचाइका लागि पानी पाएका छैनन् ।

कञ्चनपुरको महेन्द्रनगरमा केही वर्षअघि कार्यालय स्थापना गरेर आयोजनाको कामलाई गति दिइए पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । पश्चेश्वर आयोजनाको बाँधस्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो ।

सन् १९५६ देखि सुरुआत गरिएको आयोजनाको विस्तृत परियोजना (डिपिआर) को ड्राफ्ट पनि २५ वर्षअघि तयार हुनुपर्नेमा अझैसम्म पनि त्यसले अन्तिम रुप लिन सकेको छैन । डिपिआरको ड्राफ्टमा नेपाल र भारतका अधिकारीहरु छलफलमै अल्झिरहेकाले पनि आयोजनाको काम कछुवाको गतिमा छ ।

सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको पञ्चेश्वर परियोजना सुरुआतको छ दशकभन्दा बढी हुँदा पनि निर्माणको काम सुुरु हुन सकेको छैन । सन् १९२० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा भारतसँग हिउँदमा डेढ सय क्युसेक पानी र वर्षामा चार सयदेखि एक हजार क्युसेकसम्म पानी नेपालले उपभोग गर्ने सम्झौता भएको थियो ।

सन्धिमा ५ हजार ६ सय मेगावाट क्षमताको पञ्चेश्वर जलविद्युत् परियोजना बन्ने उल्लेख छ । यस्तै छ महिनाभित्र डिपिआर तयार गरी आठ वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । विसं २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला भएको महाकाली सन्धिमा डिपिआर छ महिनाभित्र बनाएर तत्काल निर्माण थाल्ने उल्लेख छ ।

सन्धिमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री पिभिनरसिंह रावलले हस्ताक्षर गरेका थिए । तर सन्धि भएको २६ वर्ष बितिसक्दा पनि पञ्चेश्वरको डिपिआर बन्न सकेको छैन । देउवापछिका हरेक प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर आयोजनाले चर्चामात्र पाउँदै आएको छ । ३ वर्षअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजनाको काम अगाडि बढाउने अपेक्षा गरिएको थियो । तर त्यसले मूर्त रुप लिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !