गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायलाई डेढदशक अघिसम्म गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ ।
सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको सिरानमा रहेको पाखो र खहरेखोलामा रहेका तीन वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको झलझली सम्झना आउछ । तर आजभोलि न जलकुनीमा पानीको कुवा छ नत पाखो र खहरेखोलामा पोखरी नै छन् ।
पहिले पहिले पानीको छेलोखेलो हुने बगरफाँट गाउँ हिजोआज एक गाग्री पानीको लागि कित म्याग्दी नदीमा जानुपर्ने कि खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छ । गाउँका टोलटोलमा खानेपानीका धारा त छन् तर ती धारामा हप्ताको दुईदिन पानी खस्यो भने पाँच दिन सुख्खा हुन्छन् ।
गर्मी सुरु भएसँगै बगरफाँटमा खानेपानीको हाहाकार सुरु भएको छ । बगरफाँटमा मात्रै होइन जिल्लाका दुई दर्जनबढी गाउँमा खानेपानीको समस्या सुरु भइसकेको स्थानीयवासीले बताएका छन् ।
जलवायु परिवर्तन, वन, जङ्गल विनाश र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला त मुहान सुकेर सुख्खा बनेका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ ।
खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कदै गएको हो ।
वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुख्खा मैसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकूल बन्ने अवस्था रहेको बेनी नगरपालिका– ३ तोराखेतका पदम सापकोटाले बताए । “गर्मी सुरु भएको छैन, गाउँमा खानेपानीको समस्या सुरु भइसक्यो, अवको चार महिना हामीलाई निकै सकस हुन्छ ।”
बगरफाँट र तोराखेतमा मात्रै होइन बेनपा– ६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत म्याग्दीमा दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन् ।
पानीका मुहान सुक्न थालेपछि स्थानीयवासी पानीका लागि घण्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयवासी खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले स्थानीयवासी समस्यामा परेका हुन् ।
केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खासगरी २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा भरत दाहालले बताए ।
त्यसैगरी दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पनि मूल सुक्दै गएपछि यहाँ पानीको समस्या उत्पन्न भएको उनको भनाइ छ । “मूल पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्” उनले भने, “जनसङ्ख्या र कृषि कर्म गर्नेको सङ्ख्या बढ्दै जाने तर पानीका स्रोत सुक्दै जाने हुन थालेपछि पानीको समस्या उत्पन्न भएको हो ।”
कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौंँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ ।
उनीहरुका अनुसार वनजङ्गल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका उनीहरुको भनाइ छ ।
विकासको नाममा स्थानीय तहले डोजर आतङ्क मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् । मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदूरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन् । पानीका मूल र वन क्षेत्र छ, त्यही सडक लगेका छन् ।
यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको स्थानीयवसीको भनाइ छ । जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन् । भएका योजना पनि मर्मत सम्भार र मुहान सुक्दा बन्द भएका छन् । अधिकांश विद्यालयमासमेत पानी छैन । डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुदा बालबालिका घरबाटै बोकेर पानी लैजानु पर्ने बाध्यता रहेको छ ।
जिल्लामा प्रशस्तै जलाधार क्षेत्र भए तापनि व्यवस्थित रुपमा मुहान संरक्षण र प्रयोग गर्न नसकिँदा वर्सेनि खानेपानीको समस्या उत्पन्न हुने गरेको बताइएको छ ।