२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय जनगणना : अघिल्लो जनगणनापछि कति परिवार थपिए ?


परिवार

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित ३ करोडभन्दा करीब ८ लाख कम हुन पुगेको छ ।

आज बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । सार्वजनिक विवरण अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । वि.सं. २०६८ को जनगणनामा २ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्या रहेको थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

कति परिवार थपिए ?

प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ घरमा बसेका देखिएको छ । यसबमोजिम १० घरमा औषतमा १२ परिवार बसोबास गरेको देखिन्छ । हालको परिवार सङ्ख्या दश वर्षअघिको भन्दा करिब २४.५७% ले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो ।

सहरी क्षेत्रका परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ ।

प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना रहेको थियो । जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना देखिएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय जनगणना २०७८ : १०० महिला बराबर ९५ पुरुष

नेपालमा पुरुषभन्दा महिला ६ लाख बढी, २१ लाख *६९ हजार नेपाली विदेशमा

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !