६ बैशाख २०८१, बिहिबार

भेरी अस्पतालको स्टोरमा आगो बालेर सुतेका एकै परिवारका ४ जनाको मृत्यु


भेरी अस्पताल

नेपालगन्ज । बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा कालिकोटका एकै परिवारका ४ जनाको मृत्यु भएको छ । भेरी अस्पतालको स्टोर कक्षमा राती टिनको बट्टामा आगो बालेर सुतेका कालिकोटको खाँडाचक्र नगरपालिका-६ निवासी २३ वर्षीय धनप्रसाद भट्टराईसहित ४ जनाको मृत्यु भएको हो ।

मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटका भट्टराईसहित उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

सँगै सुतेका भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र अर्की बहिनी बेहोस अवस्थामा भेटिएका छन् । उनीहरुको भेरी अस्पतालमै उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए । घटनाबारे विस्तृत अनुसन्धान गर्न एसपी अधिकारीसहितको विशेष टोली घटनास्थल पुगेको छ ।

एउटै कोठामा बसेका उनीहरूले टिनको बट्टामा आगो बालेको र निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतकहरूको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको थियो ।

अस्पतालका कर्मचारीले काम परेपछि राति १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । बिहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !