काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा हुनुभएका आठ प्रहरी उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उहाँहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभयो ।
बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट हुनुहुन्छ । नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७८ साल मङ्सिर ९ गतेको निर्णयबाट उहाँहरू प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति हुनुभएको हो ।
उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेकामा उहाँहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्दशेन दिनुभयो ।
पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार बहन गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन पनि आग्रह गर्नुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो ।