८ बैशाख २०८१, शनिबार

प्रदेश २ सरकारद्वारा मधेसी शहीद प्रतिष्ठान गठन


प्रदेश २ सरकार

धनुषा । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो ।

मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत छ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

प्रतिष्ठानको निर्देशिका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र माओवादी सशस्त्र द्धन्दका दुई-दुई जना शहीद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ ।

शहीद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाल तथा मधेस आन्दोलनका शहीद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई प्रतिष्ठानमा नियुक्त गरेको छ ।

चार जना शहीद परिवारबाट सदस्य नियुक्त भएकालाई आज एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यलाई निर्देशनसमेत दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !