११ बैशाख २०८१, मंगलबार

प्रदेश १ मा सवारी दुर्घटना : सशस्त्र प्रहरीका सइसहित २ जनाको मृत्यु


दुर्घटना

बिराटनगर । प्रदेश १ मा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) सहित २ जनाको मृत्यु भएको छ । हिजो बुधबार साँझ झापा र सुनसरीमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत सइ सन्तोष बस्नेतको मृत्यु भएको छ । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ब २४३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

हिजो साँझ ८:४५ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बुको सोलुदूधकुन्ड गाउँपालिका–१ घर भएका बस्नेत गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा तीव्र गतिमा रहेको कारको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलामको देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हिजो साँझ साढे ६ बजे दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । उनलाई राति १०:४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !