७ बैशाख २०८१, शुक्रबार

मुगुको गमगढी बजारमा आगलागी : घुम्ती पसलसहित २० घर जलेर खरानी


मुगुको गमगढी बजारमा आगलागी फाइल फोटो

गमगढी । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा हिजो सोमबार राति आगलागी भएको छ । मुगुको पुरानो गमगढीमा उक्त आगलागीबाट २० वटा घर जलेर पूर्ण रुपमा खरानी भएको प्रहरीले बताएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राति साढे १२ बजेतिर आगलागी शुरु भएको हो । आगो थप घरमा फैलिन नदिइएको र जलेका घरहरु भने अझै जलिरहेको प्रमुख जिल्ला अधिकारी महतले बताए ।

राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा आगलागी भएको हो । उक्त आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणको कार्य जारी रहेको छ । प्रहरीका अनुसार अहिले आगो फैलने क्रम रोकिए पनि पूर्ण रुपमा निभाउन भने प्रयास जारी रहेको हो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे पनि अझसम्म थाहा भई नसकेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !