११ असार २०८१, मंगलबार

कानुनमन्त्री बडु भन्छन्- जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ


दिलेन्द्रप्रसाद बडु

गोदावरी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु परेकाले जलवायु परिवर्तनसम्बन्धी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए । सरकारले अहिले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम ल्याउन नसके भविष्यमा मुलुकले ठूलो क्षति बेहोर्नसक्ने भएकाले यसलाई सरकारले महत्वका साथ लिनुपर्नेमा उनको जोड थियो ।

उनले सरकारले बाढी, पहिरो र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरेर तत्काल राहतसहितका प्याकेज अघि बढाइने बताए । मन्त्री बडुले बाढी, पहिरो र डुबानका कारण सबैभन्दा मारमा किसान वर्ग परेकाले सरकारले तत्काल राहतको व्यवस्था गर्ने जानकारी दिए ।

उनले सरकारको आफ्नो स्रोतले नभ्याएमा वैदेशिक सहयोग जुटाएर भए पनि मारमा परेका किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकार लागिपर्ने बताए । उनले आफू बाढी, पहिरो र डुबानका बेला सुदूरपश्चिम भ्रमणमा रहेको जनाउँदै आफ्नै आँखाले यहाँ भएको क्षति देखेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !