कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरे ।
सो अवसरमा उनीहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिएका छन् । महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताए । बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिदैं उनले भने, “थप के सहयोग चाहिन्छ, त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ ।”
मन्त्री खड्काले बेमौसममा आएको वर्षाले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै डुवानसँगै किसानको धानबालीमा व्यापक क्षति गरेको उल्लेख गर्दै प्रदेशका तर्फबाट किसानलाई हरसम्भव सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।
महाकाली नदीको पुल जोडने पहुँच मार्ग बाढीले भत्कायो
महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो ।
बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ ।
पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ । आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ । टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताए ।
उनले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताए । यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो । ठेकेदार कम्पनीले पहुँचमार्ग संरक्षणका लागि ठूला ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि केही महिनाअघि समेत पुल जोडने पहुँच मार्ग भत्काएको थियो ।
कुमार सिएफइसी जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । तीन वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको छ ।
यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए ।
उहाँका अनुसार मङ्गलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ । नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पुर्याउको क्षति बारे तथ्याङ्क सङ्कलन तथा उद्दारको काम भइरहेको जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।